राउटे समुदाय नै 'लोप हुन सक्ने' त्यस्तो के सङ्कट आइपरेको हो?

  • प्रकाश पन्त
  • सुर्खेत
खाना खाँदै राउटे दम्पती

तस्बिर स्रोत, Lal Bahadur Khatri

तस्बिरको क्याप्शन,

खाना खाँदै राउटे दम्पती

पश्चिम नेपालमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायको अस्तित्व सङ्कटमा पर्न थालेको भन्दै चिन्ता व्यक्त भइरहेका छन्।

गत एक वर्षको अविधमा छ जना बालबालिकासहित १७ जना राउटेको अकाल मृत्यु भएको उनीहरूको भलाइका लागि काम गर्दै आएको सामाजिक विकास सेवा केन्द्र (सोसेक) ले जनाएको छ।

अत्यधिक मदिरा पिउने कुलतसँगै आमाबुवाको लापरवाही, कुपोषणजस्ता कारणले पछिल्लो समय राउटेहरूको अकालमै ज्यान जान थालेको सोसेकमा कार्यरत लालबहादुर खत्री बताउँछन्।

विगत चार वर्षदेखि राउटे बस्तीको रेखदेखमा खटिएका उनका अनुसार २०७७ असारदेखि २०७८ असारसम्म जन्मिएका नौमध्ये छजना शिशुको छ महिनाको उमेरभित्रै मृत्यु भएको तथ्याङ्क छ।

लोप हुने खतरा

भर्खरै जन्मिएको शिशुलाई समेत दिनभरि बस्तीमै छाडेर आमाबुवा गाउँतिर घुम्न जाने भएकाले बच्चाहरूले खासै स्याहार नपाउने गरेको खत्री बताउँछन्।

राउटे समुदायका गतिविधिलाई लामो समयदेखि प्रत्यक्ष रूपमा नजिकबाट नियाल्दै आएका उनी भन्छन्, "मदिराको कुलत छुटाउन नसकिए राउटे समुदाय नै लोप हुने खतरा छ।"

यो अवधिमा अत्यधिक मदिरा पिएर, भिरबाट लडेर तथा दीर्घ रोगका कारण अरू ११ जना राउटेले पनि ज्यान गुमाएका छन्।

राउटे अगुवा चिन्तित

राउटे समुदायका अगुवाहरू पनि अत्यधिक मदिरा पिउने बानीका कारण आफ्नो समुदाय नासिने हो कि भन्ने चिन्ता लाग्न थालेको बताउँछन्।

अरू समुदायसँग घुलमिल बढेसँगै उनीहरूले खाएको देखेर आफ्ना जनताले पनि मदिरा पिउन सिकेको राउटे मुखियाहरू दाबी गर्छन्।

बजारमा पाइने विभिन्न खाले रक्सीका साथै लोकल रक्सी चार–पाँच वर्षदेखि अत्यधिक रूपमा खान थालेको र जति प्रयास गर्दा पनि आफ्ना जनतालाई मदिरा पिउनबाट रोक्न नसकेको राउटेका एक पूर्वमुखिया महिनबहादुर शाही गुनासो गर्छन्।

दिक्दारी मान्दै उनले भने, “जति भने पनि नमानेपछि कसो गर्ने हो? नखाऊ भन्दा खान्नँ भन्छन्, तर गाउँशहरबाट बेलुका टिल्ल भएर आउँछन्।”

राउटे मुखिया सूर्यनारायण शाही पनि आफ्नो समुदायका मानिसहरूले अत्यधिक मदिरा सेवन गर्न थालेको भन्दै चिन्ता प्रकट गर्छन्।

‘पैसाको अभाव हुँदैन’

सङ्घीय सरकारले राउटे समुदायका प्रतिव्यक्तिलाई मासिक तीन हजार रुपैयाँ र कर्णाली प्रदेश सरकारले मासिक दुई हजार रुपैयाँको दरले सामाजिक सुरक्षा भत्ता दिन्छन्।

प्रत्येक राउटे परिवारले चार महिनामा न्यूनतम २० हजारदेखि दुई लाख रुपैयाँसम्म सामाजिक सुरक्षा भत्ता बुझ्ने गरेको तथ्याङ्क छ।

सरकारले दिने भत्ताका साथै विभिन्न सङ्घसंस्था, व्यक्तिले गर्ने सहयोग र आफैँले पनि कमाउने हुँदा उनीहरूसँग पैसाको खासै अभाव नहुने गरेको जानकारहरू बताउँछन्।

सरकारी र गैरसरकारी संस्थाले दिने चामल, दाल, तेल, लत्ताकपडाका साथै आफूहरूले प्रयोग नगर्ने खालका सामान गाउँलेलाई सस्तोमा बेचेर पनि राउटेहरूले मदिरा खाने गरेको खत्री बताउँछन्।

पछिल्लो समय आमाको दूध खान छोडेका बालबालिकादेखि महिला र वृद्धवृद्धाले अत्यधिक मदिरा पिउने गरेको राउटे समुदायको भलाइका लागि काम गरिरहेकाहरू बताउँछन्।

हातमा पैसा पर्नासाथ मदिरा पिइहाल्ने बानी परेका राउटेहरूलाई त्यस्तो कुलतबाट समयमै मुक्त गर्न नसके यो समुदायको अस्तित्व नै नरहने खतरा उनीहरू औँल्याउछन्।

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको निगरानी

राउटे मुखिया सूर्यनारायण शाहीले पनि आफ्नो समुदायमा जाँडरक्सीको कुलतको समस्या रहेको बताएका छन्।

राउटे समुदायका मानिसको उपचार तथा सुरक्षाका लागि राउटे बस्तीमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी खटिएका छन्।

तस्बिर स्रोत, Milan BC

तस्बिरको क्याप्शन,

राउटे समुदायका लागि वितरण गर्न ठिक्क पारिएको चामलका पोका

अहिले प्रदेश सरकारको तर्फबाट एकजना, सोसेकको तर्फबाट दुईजना कर्मचारी राउटे बस्तीमा खटिएका छन्।

यसरी खटिएका कर्मचारी र प्रहरीले राति १० बजेसम्म राउटे बस्तीको रेखदेख र निगरानी गर्ने, बिरामी पर्दा उपचार गर्ने, बालबालिकालाई खेलाउने, मुखियासँग समन्वय गर्ने, आवश्यक सल्लाहसुझाव दिने काम गरिरहेका छन्।

मूलप्रवाहमा ल्याउने नीति

राउटे समुदायको संरक्षण लागि विभिन्न प्रयत्न भइरहेका छन्।

तर पनि राउटे समुदायका मानिसहरूलाई मदिराको कुलतबाट मुक्त गर्न नसकिएको उनीहरूको रेखदेखमा खटिएकाहरूको दाबी छ।

राउटे समुदायमा मदिरा नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालन गर्नुका साथै बस्ती वरपरका मान्छेलाई मदिरा नबेच्न आग्रह गर्ने काम भइरहेको सामाजिक विकास मन्त्रालयका सामाजिक महाशाखा प्रमुख अनिता ज्ञवाली बताउँछिन्।

आफ्नो तर्फबाट महिनाको दुई हजार रुपैयाँ भत्ता दिँदै आएको कर्णाली प्रदेश सरकारले राउटे समुदायलाई सामाजिकीकरण गर्ने प्रयास थालेको जनाएको छ।

राउटे समुदायका समस्या पहिचान गरिएको र ती समस्या समाधान गर्न राउटेसम्बन्धी छुट्टै नीति ल्याउन लागिएको ज्ञवाली बताउँछिन्।

राउटे समुदायको मूलप्रवाहीकरणसम्बन्धी नीतिमा शिक्षा, स्वास्थ्य, आयआर्जन, मौलिकताको संरक्षण, सहयोगका लागि एकद्वार नीतिजस्ता विषय समेटिएका छन्।

अहिले १४० जनाको सङ्ख्यामा रहेका राउटे समुदायलाई यो नीतिले विभिन्न कुलतबाट मुक्त गराउँदै मूलप्रवाहीकरणमा सघाउने सबैको अपेक्षा छ।