कोभिड: आस्ट्राजेनेका खोप लगाउँदा रगत जम्ने दुर्लभ समस्या के कारणले उत्पन्न हुन्छ भन्ने पत्ता लाग्यो

  • जेम्स ग्यालहर
  • स्वास्थ्य तथा विज्ञान संवाददाता
खोप लगाउँदै गरेकी एक महिला

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन,

खोप लगाउँदै गरेकी एक महिला

वैज्ञानिकहरूले अक्सफर्ड-आस्ट्राजेनेकाको कोभिड खोप लगाएपछि मानिसमा रगत जम्ने दुर्लभ प्रकारको समस्या के कारणबाट उत्पन्न हुन्छ भन्ने पत्ता लागेको बताएका छन्।

कार्डिफ र अमेरिकास्थित वैज्ञानिकहरूले रगतमा भएको प्रोटीन खोपको एउटा मुख्य तत्त्वसँग कसरी आकर्षित हुन्छ भन्ने प्रक्रिया विस्तृतमा देखाएका छन्।

उनीहरूका विचारमा रगतको एउटा प्रोटीन र खोपको एउटा तत्त्व आकर्षित हुँदा त्यसले एकपछि अर्को प्रतिक्रिया उत्पन्न हुन्छ। शरीरको प्रतिरोध प्रणाली पनि त्यसमा संलग्न हुन्छ र रगत जम्न पुग्छ।

आस्ट्राजेनेका कोभिड खोपले अहिलेसम्म झन्डै १० लाख मानिसलाई मृत्युवरण गर्नबाट जोगाएको अनुमान गरिएको छ।

तर दुर्लभ खालको रगत जम्ने समस्याप्रति चिन्ता प्रकट गरिएको छ र त्यसैका कारण संसारका कैयौँ स्थानमा यो खोप कसरी प्रयोग गर्ने भन्ने प्रक्रिया निश्चित गरिएको छ। यूकेमा ४० वर्षमुनिका मानिसलाई आस्ट्राजेनेका खोपको विकल्प रोज्न दिइएको छ।

वैज्ञानिकहरूले दुर्लभ रूपमा त्यस्तो घटना किन हुन्छ र त्यो रोक्न सकिन्छ कि भनेर अध्ययन गरेका हुन्।

कार्डिफको वैज्ञानिक टोलीलाई यूके सराकारले कारण पत्ता लगाउन आपत्कालीन आर्थिक सहयोग पनि उपलब्ध गराएको थियो।

तस्बिर स्रोत, ASU

तस्बिरको क्याप्शन,

१०० न्यानोमिटरभन्दा सानो एडिनोभाइरसको तस्बिर

अध्ययनको प्रारम्भिक परिणाम प्रकाशित भएपछि आस्ट्राजेनेकाका वैज्ञानिकहरू पनि अनुसन्धानमा सहभागी भएका थिए।

आस्ट्राजेनेकाकी एक प्रवक्ताले खोपका कारण भन्दा पनि कोभिड सङ्क्रमणका कारण रगत जम्ने कुरामा जोड दिएकी छन्। तर त्यसो किन हुन्छ भन्ने पत्ता लागेको थिएन।

उनले भनिन्, "यो अनुसन्धानले यसैकारण हुन्छ भनेको छैन तर केही चाखलाग्दा कुराको जानकारी दिएको छ। अनि यो अनुसन्धानका आधारमा असाध्यै दुर्लभ दुष्प्रभावका रूपमा देखिएको यो रगत जम्ने समस्या हटाउन सकिन्छ कि भनेर उपायबारे कुराकानी भइरहेको छ।"

दुर्लभ प्रकारको रगत जम्ने कुरा अनुसन्धान गर्न अनुसन्धानकर्तासँग दुईवटा सङ्केत थिए।

  • केही खोप प्रविधिमा मात्र रगत जम्ने खतरा सम्बन्धित भएको पाइयो
  • रगत जमेका मानिसमा अस्वाभाविक प्रकारको एन्टिबडी पाइयो जसले उनीहरूको रगतमा भएको 'प्लेट्लट फ्याक्टर फोर' भनिने प्रोटीनमा आक्रमण गरेको पाइयो

यूकेमा प्रयोग भएका खोपहरूले शरीरको रोग प्रतिरोधी प्रणालीलाई अभ्यस्त पार्नेगरी केही तत्त्व पठाउँछन्।

आस्ट्राजेनेकाले एडिनोभाइरस (चिम्पान्जीबाट निकालिएको साधारण रुघाखोकी लगाउने भाइरस) लाई सूक्ष्म हुलाकीको रूपमा प्रयोग गर्छ।

अनुसन्धानकर्ताहरूले एडिनोभाइरसको सम्बन्ध रगत जम्ने समस्यासँग छ कि भनेर अध्ययन गरेका थिए।

त्यसैले उनीहरू क्रायो-इलेक्ट्रोन माइक्रोस्कपी भनिने प्रविधि प्रयोग गरेर पारमाणविक तहमा एडिनोभाइरसको विस्तृत विवरण आउनेगरी तस्बिर खिच्न सफल भए।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन,

खोप लिएकी महिला

साइन्स एड्भान्सेस नामक जर्नलमा प्रकाशित अध्ययनले देखाएअनुसार एडिनोभाइरसको बाहिरी तहले प्लेट्लट फ्याक्टर फोर प्रोटीनलाई चुम्बकले झैँ आकर्षित गरेको देखायो।

कार्डिफ विश्वविद्यालयसँग आबद्ध अनुसन्धानकर्ता प्रा. एलन पार्करले बीबीसी न्यूजलाई भने, "एडिनोभाइरसको सतह एकदमै ऋणात्मक हुन्छ र प्लेट्लट फ्याक्टर फोरचाहिँ असाध्यै धेरै धनात्मक हुन्छ। त्यसैले दुईबीच कुरा मिल्छ।"

उनले थपे, "हामी एडिनोभाइरस र प्लेट्लट फ्याक्टर फोरबीच सम्बन्ध प्रमाणित गर्न सफल भयौँ। "

"हामीसँग भएको कुरा त्यो प्रतिक्रिया आरम्भ गर्न सहयोग गर्ने तत्त्व हो, तर त्यसपछि धेरै चरणमा अनेकौँ प्रतिक्रिया हुन्छन्।"

अक्सफर्ड-आस्ट्राजेनेका खोप शरीरसम्म पुर्‍याउने १०० न्यानोमिटरभन्दा कम आकारका एडिनोभाइरसका अद्भुत तस्बिरहरू खिचिएका छन्।

अनुसन्धानकर्ताहरू अबको चरणमा "हराएको रोग प्रतिरोध क्षमता" पत्ता लगाउनु हुनेछ तर त्यो थप अनुसन्धानबाट मात्र निश्चित हुनेछ।

शरीरले एडिनोभाइरसको एउटा भाग हो कि भनेर उसमा टाँसिन पुगेको प्लेट्लट फ्याक्टर फोरलाई आक्रमण गर्छ। अनि एन्टिबडी रगतमा छोड्छ। त्यही एन्टिबडी प्लेट्लट फ्याक्टर फोरसँग जोडिन पुग्दा खतरनाक रगतको थाक्ला बन्न जान्छ।

यी सबै चक्र पूरा हुन केही दुर्भाग्यपूर्ण घटनाक्रम हुने गर्छन् जसले किन यस्तो रगत जम्ने कार्य दुर्लभ हुन्छ भन्ने जनाउन सक्छन्।

खोपका कारण उत्पन्न यस्तो रगत जम्नुलाई इम्यून थ्रोम्बोटिक थ्रोम्बोसिटोपेनिया भनिन्छ। यसलाई यूकेमा दिइएको करिब पाँच करोड आस्ट्राजेनेका खोपमध्ये ७३ जनाको मृत्यु भएको सँग जोडिएको छ।

प्रा. पार्कर भन्छन्, "यो यस्तो भएको हो भन्ने अनुमान गर्न कठिन थियो र त्यस्तो हुने मौका पनि असाध्यै कम छ। त्यसैले हामीले बृहत् कुरा हेर्न जरुरी हुन्छ किनभने यो खोपले धेरैको जीवन रक्षा गरेको छ।"

आस्ट्राजेनेकाले खोपका कारण संसारभरि गरी १० लाख मानिस बाँच्न सफल भएको र पाँच करोड जनामा कोभिड हुन रोकेको ठानिएको छ।

तस्बिर स्रोत, Getty Images

अक्सफर्ड विश्वविद्यालयले उक्त अनुसन्धानबारे प्रतिक्रिया दिन अस्वीकार गरेको छ।

बर्मिङ्घमस्थित एक शिक्षण अस्पतालका हेमाटोलजिस्ट डा. विल लेस्टरले विस्तृत अनुसन्धानको प्रशंसा गर्दै त्यसले रगत जम्ने प्रारम्भिक चरणहरू अध्ययनले स्पष्ट पार्न सहयोग गरेको बताए।

उनले भने, "अझै पनि कतिपय प्रश्नहरूको उत्तर प्राप्त हुन बाँकी नै छ। जस्तो कि केही मानिसहरूको किन रगत जम्छ र रगत खासगरी किन मस्तिष्क र कलेजोमा जम्छ भन्ने प्रश्नको उत्तर प्राप्त भएको छैन। तर थप अध्ययन हुँदै जाँदा त्यो पनि पत्ता लाग्न सक्छ।"

कार्डिफका वैज्ञानिकहरूको समूहले एडिनोभाइरसमा आधारित खोपले भविष्यमा यस्ता खालका दुर्लभ जोखिम हटाउन आफ्नो अध्ययनले सहयोग गर्ने बताएका छन्।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ,

के कोभिड खोप लगाउने महिलामा बाँझोपन हुन्छ?